जनता टाइम्स

७ चैत्र २०७९, मंगलवार ०८:२२

मर्स्याङ्दीमा हराएको तीन महिनापछि शव भेटियो


काठमाडौं, ७ चैत्र ।  मर्स्याङ्दी नदीमा खसेर हराइरहेका एक जना सशस्त्र प्रहरीका जवान तीन महिनापछि मृत भेटिएका छन् । गत पुस १५ गते मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा सशस्त्र प्रहरी जवान ३२ वर्षीय अनन्त महत मर्स्याङ्दीमा खसेका थिए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि नै महत हराइरहेका थिए । बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार उनी पिसाव फेर्न बाहिर निस्किएर सडक छेउमा गएका थिए ।रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोटका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर मनाङको चामे जाँदै थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राइनास नगरपालिका ६, धमिलीकुवाछेउ मर्स्याङ्दी नदीमा एउटा युवकको शव फेला परेपछि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो । आइतबार अपराह्नतिर फेला परेका उनको शव परिवारले सोमबार सनाखत गरेको उहाँले बताउनुभयो । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।