काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते हुनुभएको थियो । उहाँसँगै गम्भीर घाइते भएकी उहाँकी आमा हरिकलाको भने कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।
सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएकोमा उहाँलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।
सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिनुभयो।
उहाँको अनुहारको छाला राम्रो हुँदै आएको र बायाँ हातको पट्टी खोलिइसकिएको उहाँले जानकारी दिनुभयो। कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएको न्यौपानेले बताउनुभयो।
दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरू गरिएको छ। दिनमा तीन–चार पटक हिँडाउन थालिएको र उहाँ अरूको सहयोगमा हिँड्न थालेको न्यौपानेले जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्