जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार १९:२४

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न एमाले असहमत


काठमाडौं, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तापक्षको प्रस्ताव अस्वीकार गरेको बताउनुभएको छ । आज अपरान्ह् सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको शीर्ष नेताहरूको छलफलमा नेकपा एमालेले संसदीय समितिमा प्रस्ताव लैजानुपर्ने अडान राख्नुभएको हो ।

देवराज घिमिरेको पहलमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने अडान दोहोर्याउनुभयो । प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताउनुभयो । शीर्ष तहमा चैत २८ गते पुनः छलफल हुने बताइएको छ ।