जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १५:३८

कोही जाइलाग्यो भने राष्ट्रिय युवा संघ नेपाल हातमा दही जमाएर बस्दैन : निरुदेवी पाल


नेपालगंज, चैत २७ । नेकपा एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालले राष्ट्रिय युवा संघ नेपाल आवाजविहीनहरूको आवाज भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै संघकी पूर्व अध्यक्ष समेत रहनुभएकी पालले नेपाल र नेपाली स्वाभिमानको आवाज उठाउने संगठन राष्ट्रिय युवा संघ नेपाल नै भएको बताउनुभयो ।

नेपालको सिमाना मिचिँदा टाउकोमा कफन बाँधेर विरोध गर्ने गर्वीलो इतिहास युवा संघले बोकेको उहाँले स्मरण गराउनुभयो ।

पार्टीमा खटपट आउँदा पार्टी एक हुनुपर्छ भन्ने खबरदारी गर्ने संगठन पनि राष्ट्रिय युवा संघ नेपाल नै भएको उहाँले बताउनुभयो ।

माओवादीका वाईसीएलको ज्याजति विरुद्ध जनतालाई भरोसा दिलाउने संगठन पनि राष्ट्रिय युवा संघ नेपाल नै भएको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रिय युवा संघ नेपालले सो विरासत धान्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

अन्याय अत्याचारमा परेकालाई न्याय दिलाउने संगठन पनि राष्ट्रिय युवा संघ नेपाल भएको उहाँले बताउनुभयो । ‘ युवा साथीहरूले त्यतिकै जाइ लाग्ने होइन, कोही जाइ लाग्न आयो भने राष्ट्रिय युवा संघ नेपाल हातमा दही जमाएर बस्दैन भन्ने इतिहास तपाईँहरू सामु छ’ पालले भन्नुभयो ।

महिलाले केवल खाना मात्र बनाउँदैनन् राष्ट्रको नेतृत्व समेत गर्न सक्छन् भन्ने प्रमाणित गर्ने पार्टी एमाले भएको पालले प्रष्ट पार्नुभयो । एमालेलेबाट महिलाले सफल राष्ट्रपतिको नेतृत्व गरिसकेको उहाँले स्मरण गराउनुभयो ।