जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १६:३८

राष्ट्रिय युवा संघ नेपाल कठिन परिस्थितिमा मुलुकलाई ऊर्जा दिने संगठन : भानुभक्त ढकाल


नेपालगंज, चैत २७ । नेकपा एमाले एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले राष्ट्रिय युवा संघ नेपालले निक्कै कठिन परिस्थितमा देश र जनताको पक्षमा काम गरेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालञ्जमा सम्बोधन गर्दै ढकालले राष्ट्रिय युवा संघ नेपालले नेकपा एमालेको आड र संरक्षणमा सो काम गर्न सफल भएको बताउनुभयो ।

‘कठिन परिस्थितिमा मुलुकलाई ऊर्जा दिने, आशा, विश्वास जगाउने काम पनि युवा संघ र त्यस भित्र युवा फोर्सको नाममा गठन गरिएको संगठित शक्तिले काम गर्दै आएको छ’, ढकालले भन्नुभयो ।
ढकालले अहिले समय निक्कै बदलिएको बताउनुभयो ।

‘व्यक्तिका व्यवहार र प्रवृत्ति नबदलिए पनि हिजोका प्रवृत्तिमा कतिपय सुधार आएको छ, अब समाजलाई अगाडि बढाउने सन्दर्भमा रचनात्मक आन्दोलनको अगुवाइ गरेर मुलुकलाई दिशानिर्देश गर्नुपर्ने ठाउँमा हामी उभिएका छौँ’ ढकालले भन्नुभयो ।

राष्ट्रिय युवा संघ नेपालको तर्फबाट चलाइएका अभियान समाज र युवाको लागि निक्कै रचनात्मक भएको उहाँले बताउनुभयो । यो रचनात्मक आन्दोलनलाई अझ व्यवस्थित बनाउन संगठनको राष्ट्रिय महाधिवेशनले ठोस योजन बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

साङ्गठनिक अराजकता र दक्षिणपन्थी अवसरवादलाई परास्त गर्न राष्ट्रिय युवा संघ नेपालले सफलता प्राप्त गर्ने उहाँले विश्वास गर्नुभयो । एमाले जनसंगठनलाई नयाँ ढङ्गले अगाडि बढाउन थप योजना बनाउने पनि उहाँले बताउनुभयो ।