जनता टाइम्स

१ बैशाख २०८०, शुक्रबार १२:३६

मतदाता भन्छन-मंसिर ४ को गल्ती दोहोर्याउँदैनौं, यसपटक राप्रसादलाई जिताउँछौं


चितवन, बैशाख १ । यही वैशाख १० मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेको घरदैलोमा मतदाता आफै जुटन थालेका छन । न्यौपानेको चुनावी प्रचारप्रसारका क्रममा गरेको घरदैलोमा स्थानीय मतदाताको उत्साहजनक साथ र सहयोग देखिएको हो ।

अहिले न्यौपानेले भरतपुरका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । घरदैलोका क्रममा न्यौपानेलाई मतदाताले आफ्ना समस्या राख्ने, गुनासो पोख्ने तथा आशिर्वाद दिने गरेका छन् । न्यौपाने र नेकपा एमालेको पक्षमा जनलहर बढ्दै गएको नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले बताउनु भयो ।

‘अघिल्लो निर्वाचनमा अन्यत्रै मतदान गर्दा दुःख पाएका गुनासो मतदाताको रहेको छ, यसपटक सूर्यमा मतदान गर्दै रामप्रसाद न्यौपानेलाई जिताउँछौँ भन्दै घरदैलोमा स्थानीयको व्यापक सहभागिता बढ्दै गएको छ,’ ज्ञवालीले भन्नुभयो । नियत खराब भएको व्यक्तिका कारण चितवनमा पुनः निर्वाचन गर्नुपरेको भन्दै ज्ञवालीले चितवनको माटो चिनेको र जनताको समस्या बुझेको उम्मेदवार रामप्रसाद न्यौपाने भएको बताउनु भयो । पहिले अन्यत्रै भोट हालेका मतदाताहरु यसपालि एमालेमा नै फर्किसकेका ज्ञवालीले बताउनु भयो ।

बिहीबारको घरदैलोका क्रममा एमाले उम्मेदवार न्यौपानेले भरतपुर–४ मा स्थापना गरिएको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन समेत गर्नुभएको छ । कार्यालयको उद्घाटन गर्दै न्यौपानेले अहिलेको अभियान देश बनाउने अभियान भएको बताउनु भयो । ‘यो अभियान हाम्रा सन्ततिहरुको भाग्य र भविष्य निर्माण गर्ने अभियान हो, एउटा सन्देश प्रवाह गर्ने अभियान हो,’ उहाँले भन्नुभयो, ‘यो अभियानमा हामी निरन्तर लाग्ने छौँ र हामी जित्ने छौँ ।’

एमालेले जित्ने भनेको ज्येष्ठ नागरिक, युवासहित सबै नेपालीको खुसीको कुरा भएको न्यौपानेको भनाइ छ । एमालेले जित्ने कुरा सभ्य समाज निर्माण गर्ने कुरा भएकाले एमालेले जित्ने न्यौपानेले बताए । न्यौपानेको घरदैलोका क्रममा स्थानीयले स्वास्थ्य, रोजगार, बाटोघाटोलगायतका विषयमा गुनासाहरु गरेका थिए ।

चितवनको सम्पूर्ण समस्याको बारेमा आफू जानकार भएको उल्लेख गर्दै न्यौपानेले आफूले जितेर गएमा चितवनका सबै समस्या समाधानतर्फ लाग्ने बताउनु भयो । चुनाव प्रचारप्रसारका क्रममा बिहीबार भरतपुरको वडा नं ३ र ४ मा उम्मेदवारसहित एमालेका नेताहरु घरदैलोमा पुगेका थिए ।