काठमाडौँ, ४ वैशाख । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा सोमबार छलफल हुँदै छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुने भएको हो।
एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको छलफल सोमबार बिहान ९ बजे हुने शर्माले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ।
यसअघि चैत २५ र २८ गते पनि उहाँहरूबीच छलफल भएको थियो। सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल विशेषतः
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने विषयमा केन्द्रित थियो। संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ।













प्रतिक्रिया दिनुहोस्