जनता टाइम्स

४ बैशाख २०८०, सोमबार १७:४२

‘राजनीतिकरण नगर्नू, नुनचुक बोकेर नआउनू’ : रवि लामिछाने


काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ । लामिछानेका चालक थापा तीन तलाको घरको छतबाट खसेर अहिले उपचाररत अवस्थामा हुनुहुन्छ । भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट थापा खसेको अवस्थामा भेटिनुभएको थियो ।

उक्त विषयमा प्रहरीले अनुसन्धान जारी सुरु गरेको र थापा खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । सोही विषयलाई लिएर आज अपरान्ह सभापति लामिछानेले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको हो । साथै उहाँले यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन पनि आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेले लेखेका छन् :

“आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमसी (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भरखरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला योभन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु ।

मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनुहोला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला ।”