काठमाडौं, ५ बैशाख । नेपाली भाषा–साहित्य, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ औं प्राज्ञसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न प्राज्ञसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजको इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालको सम्पूर्ण साहित्य, भाषाभाषी, संस्कृतिको प्राज्ञिक खोज–अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले प्राज्ञिक क्षेत्रको समष्टि रूप नै प्रज्ञा भएको बताउनुभयो ।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले समग्र भाषाहरूको उत्थान र विकासमा जोड दिँदै नेपाल प्रज्ञा प्रतिष्ठानसँग सधैँ समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले स्रष्टाहरूको प्रतिलिपी अधिकार सुरक्षित गर्नेमा आफूहरू तत्पर रहेको सुनाउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले प्राज्ञिक क्षेत्रको सर्वाङ्गिण विकासका लागि आफू लागि पर्ने बताउनुभयो । त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले एकआपसमा सांस्कृतिक क्षेत्रको उन्नायन र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । एक दिने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अभिलेख सङ्ग्रहालय प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्