जनता टाइम्स

१० बैशाख २०८०, आईतवार १७:५४

तनहुँ–२ मा ५२ प्रतिशत मत खस्यो


तनहुँ, बैशाख १० । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। बिहानदेखि उत्साहजनक रूपमा भएको मतदान दिउँसो घाम लागेपछि पातलिएको थियो।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ। ‘हामी अहिले डेटा संकलन गर्दर्छौँ। प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरेका छौँ। ठ्याक्कै तथ्यांक केहीबेरमा जानकारी गराउनेछौँ,’ ढकालले भन्नुभयो ।

गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो। ६९ मतदानस्थल रहेको यस क्षेत्रको १५२ मतदान केन्द्रमा शान्तिपूर्ण र सौहार्द वातावरणमा मतदान भएको हो।

यस क्षेत्रमा १ लाख २३ हजार ३०५ जना मतदाता रहेका छन्। मतदान गराउन ७ सय ६० कर्मचारी खटिएका थिए। सवै मतदान केन्द्रबाट मतपेटिका ल्याएपछि सर्वदलिय बैठक बसेर मतगणनाको समय तोकिने प्रमुख ढकालले बताउनु भयो। उहाँका अनुसार कोटा, वैडी, छिपछिपे, व्यास तथा भानुका उपल्लो भेगबाट राति १२ बजेसम्म मतपेटिका आइपुग्ने छ।