पोखरा, बैशाख २४। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि अखिल क्रान्तिकारीका नेता दिपेश पुनसम्मलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ ।
प्रेस चौतारी कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले एमाले सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएजस्तो आफूहरूलाई नलागेको बताउँदै उहाँले कानुनी दायरामा आएर अनुसन्धानमा सघाउने विश्वास व्यक्त गर्नुभयो । बस्नेतले केही दिन ढिला भए पनि सचिव रायमाझीले आएर प्रहरीलाई सहयोग गर्ने बताउनु भयो ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको ट्रयाक रेकर्ड हेर्दा उहाँ यस्तो गम्भीर कुरामा संलग्न हुनुहुन्न भन्ने हामीलाई लाग्छ। हामीलाई लाग्छ भन्दैमा यसमा अनुसन्धान नहोस्, दबाइयोस भन्ने मनसाय होइन,’ बस्नेतले भन्नुभयो । उहाँले अनुसन्धानमा संलग्न राज्यको निकायहरूले नै धेरै विषय लुकाउन खोजेकाले आफूहरूले केही तथ्य सार्वजनिक गरेको बताउनु भयो ।
‘हिजोसम्म भनिरहँदा मान्छेहरूले पत्याएका थिएनन। हिजो हामीले आरजू देउवालाई साढे २ करोड र बालकृष्ण खाण र मन्जु खाणलाई ६ करोड दिएको अडिओ हामीले सार्वजनिक गर्यौं । यस्ता धेरै विषयवस्तु हामी खोजेको क्रममा छौँ,’ बस्नेतले भन्नुभयो ।
उहाँले टोपबहादुर रायमाझीलाई छानबिनको दायरमा ल्याउँदै गर्दा पूर्वगृहमन्त्री खाणमाथि पनि छानबिन गर्नुपर्ने बताउनु भयो । ‘बालकृष्ण खाणजी गृहमन्त्री भएको बेलामा यो सबै कुरा भएको हो। त्यसैले बालकृष्ण खाणदेखि दिपेश पुनसम्ममा जो जोको नाम आइरहेको छ। सबैलाई छानबिनको दायरामा ल्याउनुपर्छ’ बस्नेतको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्