काठमाडौं, जेठ २ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको भन्दै आपत्ति जनाउनु भएको छ ।
संसदीय समिति अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको भएको बैठकमा नेपालले यस्तो बताउनु भएको हो । नेपालले उक्त विमानस्थलको कामलाई अगाडि बढाउन सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरेको भन्दै अर्थमन्त्री डा. महतप्रति असन्तुष्टि पोख्नुभयो ।
अध्यक्ष नेपालले यसलाई अघि बढाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग मागसमेत गर्नुभएको छ । मुलुकको गेम चेन्जर प्रोग्रामको रुपमा रहेको उक्त विमानस्थललाई अघि बढाउन संसदीय समितिहरुलाई पनि विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
‘पर्यटनसँग पनि जोडिएको, नागरिक उडड्यनसँग पनि जोडिएको र मलाई पनि सधैंभरि त्यसले घच्घच्याइरहेको त्यो निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शंका र डर लाग्न थालेको छ,’ नेपालको भनाई थियो ।
आफूले धेरैचोटि कोसिस गर्दा पनि सुनुवाइ नभएको भन्दै नेपालले आक्रोश पनि पोख्नुभयो । ‘अहिलेको भन्दा पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्याश गरौं भनें । यो समितिले पनि त्यहाँको अध्ययन गरेर अनेकौं खालको बाधा, अवरोधहरुलाई पन्छाएर बल्लबल्ल निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो’, नेपालले भन्नुभयो, ‘त्यसलाई उच्च प्राथमिकता दिइयोस् । राष्ट्रिय बजेटमा पनि, सरकारको नीति तथा कार्यक्रममा पनि र यो समितिको काममा पनि ध्यान दिइयोस् भनेर त्यसलाई समावेश गरियोस भनेर म विशेष जोड दिन चाहन्छु । हाम्रा अर्थमन्त्रीजीले पेश गरेको कुरामा अनेक कुराहरु चर्चा गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई प्राथमिकताका साथ नाम उल्लेख गरेर अगाडि सारिएको छैन । अब यो महत्व नबुझेर हो कि महत्व बुझाउन तथ्य, तथ्यांक, प्रमाण, विश्लेषण समेत पेश गर्नुपर्ने हो कि ? थाहा भएन ।’













प्रतिक्रिया दिनुहोस्