जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १४:३८

अदालतको फैसलाबिरुद्ध लाग्यो सरकार, मन्त्रीकै पार्टीले गर्यो पाँच दिने नेपाल बन्दको घोषणा


काठमाडौं, जेठ ३ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतको फैसला विरुद्ध नेपाल बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जेठ ३, ४ र ५ गते देशव्यापी राँकेजुलुश, प्रदर्शनी, कोणसभा तथा जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको कार्यक्रम राखिएको नागरिक उन्मुक्तिले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

टीकापुर घटनामा दोषी रहेको ठहर गर्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । जिल्ला र उच्च अदालतको फैसलालाई सर्वोच्चले मंगलबार सदर गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहेका चौधरी सर्वोच्चको फैसलासँगै थुनामुक्त हुने सम्भावना सकिएको छ । जिल्ला र उच्चको फैसला विरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन दिनुभएको थियो । त्यसमा मंगलबार सर्वोच्चले जन्मकैदको फैसला सुनाएको हो ।