जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १९:५९

पति संयमित, पत्नी उत्तेजित


काठमाडौं, जेठ ३ । सर्वोच्च अदालतको फैसलालाई लिएर नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी संयमित देखिनु भएको छ ।

चौधरीले सर्वाेच्च अदालतको फैसला स्वीकार गर्दै उत्तेजित नहुन अपिल गर्नुभएको छ छ तर चौधरीकै पत्नी रञ्जीता श्रेष्ठ चौधरीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी र पत्नी रञ्जीता भने निकै उत्तेजित देखिनुभएको छ । संघीय सरकारको मन्त्रीसमेत रहनुभएकी रञ्जीताले आफ्ना कार्यकर्ता अगाड सारेर नेपाल बन्दसम्मको कार्यक्रम सार्वजनिक गर्नुभएको छ । जस्को चर्काे आलोचना भएको छ ।

रेशमले अदालतको फैसलालाई स्वीकार्ने भन्दै नरम भाषामा वक्तव्य जारी गर्दा पत्नी नेतृत्वको पार्टीले भने फैसलाको विरोधमा आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ । डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशमले आज कारागारबाटै हस्तलिखित विज्ञप्ति जारी गर्नुभएको छ । रेशमको विज्ञप्ति निकै संयमित छ ।

रेशमले सम्मानित अदालतलाई सदा सम्मान गर्ने भन्दै अहिले टिकापुर घटनाको फैसलालाई अनर्गल बनाएर सामाजिक सञ्जालमा जथाभाबी टिप्पणी नगर्न अनुरोध समेत गर्नुभएको छ । अझै पनि सम्मानित न्यायालयप्रति भरोसा रहेको र न्यायिक पर्खाइमा आफूहरू भएको उहाँको भनाइ छ ।

यसको ठीक विपरीत पार्टीले भने फैसलाको विरोधमा सडक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा जेठ ६ देखि १० सम्म चार दिन नेपाल बन्द गर्ने घोषणासमेत गरिएको छ । विज्ञप्तिमा अदालतको निर्णय स्वीकार्य भए पनि यो मुद्दा अदालती नभएर राजनीतिक भएको जिकिर गरिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गर्नुभएको हो । पण्डितले बिज्ञप्तीमा भन्नुभएको छ, ‘यदि रेशमलाल चौधरी हत्यारा नै हुन् भने फाँसी दिने ऐन बनाएर फाँसी दिए हुन्छ ।’

बिज्ञप्तीमा टिकापुर हत्याकाण्डबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ । रेशम जेलमा भए पनि उहाँकै प्रत्यक्ष नियन्त्रणमा छ नागरिक उन्मुक्ति पार्टी । यो पार्टीको गठन उहाँले कारागारबाटै गर्नुभएको हो । जसमा उहाँकै पत्नी रञ्जिता अध्यक्ष हुनुहुन्छ ।

रञ्जिता अहिले संघीय सरकारकी मन्त्रीसमेत हुनुहुन्छ । उहाँ आज झण्डा हल्लाउँदै डिल्ली बजार कारागारमा कैदी श्रीमान रेशम भेट्न पुग्नुभएको थियो । रेशम र रञ्जिताबीच कारागारमा छलफल समेत भएको थियो । रेशमको बिज्ञप्ती र मन्त्रीसमेत रहनुभएकी पत्नी रञ्जीताको कदमलाई लिएर राजनीतिक बिश्लेषकहरुले ‘पति संयमित,पत्नी उत्तेजित’ भन्ने प्रतिक्रिया दिएका छन ।