काठमाडौं, १२ जेठ । टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट चौधरीलाई आममाफी दिन लागिएको चर्चा चलेपछि उहाँले आज राष्ट्रपति भवन शीतल निवासमा पुगेर निवेदन दिनुभएको हो ।
सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गर्नुभएको हो ।
‘सुरक्षाकर्मी भएको कारण कर्तव्यपरायणका सिलसिलामा मेरो पति एकपटक मृत्यु भयो तर वहाँबाट आश्रीत म र मेरा परिवार अनि हामी जस्ता पिडितलाई राजनीतिले पटक–पटक जिउँदै मारेको छ । २०७२ भदौदेखि निरन्तर घाउ माथि घाउ थपिदिएको छ राज्यले । अपराधीले राजनीतिको खास्टो भिर्दैमा देशमा न्याय कायम हुन्छ ? संविधानका हक अधिकारको रक्षा हुन्छ ? अथवा पिडितले न्याय पाउछन ?’
‘कार्यकारी अधिकार लिएर सत्तामा रहेकाहरुमा मुखले न्याय, अधिकार, कानूनी शासन र लोकतन्त्रको खोक्रो सपना बाँडेर हाम्रो आँशु बिक्री गरिरहेका छन । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा बदनाम हुदै गएको राजनीतिले हामी पिडामा परेकालाई हेर्छ, आश्रय दिन्छ अथवा राज्य हाम्रो साथमा छ भन्ने कल्पना समेत उध्रिएर छरपस्ट भएको छ,’ उहाँले निवेदनमा भन्नुभएको छ,‘सिँउदो फुस्रै भएपनि न्यायलयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरिहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस् बाँकी कहि छैन् । पिडामा परि निरिह भएका राज्यबाट अपहेलितका लागी रेशम चौधरीलाई आम माफीको छलफल मात्रै पनि घाउमा थप नुन चुक भएको छ ।’













प्रतिक्रिया दिनुहोस्