जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १५:३२

महिला कर्मचारीमाथि दुर्व्यवहार भएको समाचारले दुःखी छौँ : एलओडी क्लव


काठमाडौं, १५ जेठ । नेपाली नाइट क्लव (एलओडी) ले आफ्नो महिला कर्मचारीमाथि भएको यौन दुर्व्यवहारको घटनामा संलग्नलाई कारबाही माग गरेको छ । केही दिनअघि क्लबका दुई महिला क्लिनर (सरसफाइ कामदार) लाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

आज क्लबले विज्ञप्ति जारी गर्दै सामाजिक न्यायमा क्लब परिवार अझ बढी संवेदनशील र अडिग रहेको जनाएको छ । ‘हामी महिलामाथि दुर्व्यवहारका घटना हुन नदिन अत्यन्तै सजग छौ, लैङ्गिक समानतामा दृढ छौ,’ क्लबले भनेको छ,’ हाम्रा दुई महिला कर्मचारीमाथि भएको दुर्व्यवहार भएको कुरा सार्वजनिक हुँदा हामी अति नै दुःखित भएका छौ । यो घटनाको जानकारी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि हामीले पनि थाहा पायौ ।’

घटना क्लबभन्दा बाहिर भएको भएता पनि हामी सामाजिक न्यायका लागि प्रतिबद्ध रहेको क्लबले बताएको छ । ‘हाम्रा कर्मचारीहरू प्रति भएको दुःखद अनि असहज घटनामा हाम्रो साथ रहनेछ । पुनः सामाजिक न्याय र समानतामा क्लब सदा अडिग रहने विश्वास दिलाउन चाहन्छौ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । जुनसुकै हिंसा वा घटना मानवअधिकार विरोधी भएको र अझ यौन हिंसा चरम मानवता विरोध अपराध रहेको क्लबले जनाएको छ ।

के भएको हो घटना ?

जिल्ला अदालत काठमाडौँमा जघन्य अपराध बलात्कार घटनामा मुद्दा दर्ता भइसकेको क्लबले प्रस्ट पारेको छ । यसअघि दुई महिला कामदारलाई ९ क्वाटर रक्सी खुवाएर बलात्कार गरिएको मुद्दा परेपछि घटना बाहिर आएको हो । खोटाङको बाह्र पोखरी गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थायी घर भएका ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठ रहेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा गत वैशाख १५ गते बिहान साढे ६ बजे क्लबको काम सकेर घर जान लागेको अवस्थामा एलओडीका ती दुई कामदारलाई श्रेष्ठ र मगरले खाजा खुवाउन भन्दै सोह्रखुट्टे ओरालोमा रहेको एक खाजा पसलमा लगेका थिए । त्यहाँ आफूहरूले ६ क्वाटर गोल्डेन ओक (रक्सी) खाएको प्रतिवादीले बयानमा उल्लेख गरेका छन् । श्रेष्ठले भने मदिरा सेवन गरेका थिएनन् ।

त्यसपछि उनीहरू काठमाडौं महानगरपालिका–२६ स्थित एक होटलमा दुईवटा रुम बुक गरेर बसेका थिए । अनुसन्धानका क्रममा मगर एक कामदारसँग र श्रेष्ठ अर्को कामदारसँग बेग्लाबेग्लै कोठामा बसेका थिए । शारीरिक सम्पर्कपछि उक्त महिलालाई बिदा गरेका मगर पछि श्रेष्ठ अर्को कामदार बसेको कोठामा पनि छिरेको बयानमा उल्लेख छ ।

कामदार महिलाले रक्सी खाने मनसाय व्यक्त गरेकाले थप तीन क्वाटर गोल्डेन ओक मगाएर खाएको मगरले बयानका क्रममा बताएका छन् । प्रतिवादीले खाजा घरमा मदिरा सेवन गर्दै गएपछि आफूहरूलाई ट्याब्लेट खुवाएको पनि दाबी गरेका छन् । ‘त्यसपछि तिमीहरूलाई रक्सी लाग्यो आफै हिँडेर जान सक्दैनौ हामी कोठासम्म पुर्याइदिन्छौँ भनेर ट्याक्सीमा राखेर होटल पुर्‍याए’, पीडितहरूले भनेका हुन् ।