बाँके, २० जेठ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा. सञ्जु खाती खड्काको निधन यही जेठ १६ गते (मंगलबार) बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोलानजिकै कारलाई बसले ठक्कर दिँदा भयो । साथै दुर्घटनामा कारका चालक सशस्त्र प्रहरीका हवलदार सुवास अधिकारीको पनि मृत्यु भयो । धनगढीबाट पूर्वका लागि छुटेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौंबाट सुर्खेत जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो । जसमा परी कारमा सवार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ निवासी डा. सञ्जु र गोरखाको आँपपिपल घर भएका चालक हवलदार सुवासले ज्यान गुमाए।
हतार–हतार उनीहरूलाई इलाका प्रहरी कार्यालय (कोहलपुर, बाँके) ले कोहलपुर मेडिकल कलेज लगे पनि केही समयमै चिकित्सकले दुवैजनालाई मृत घोषणा गर्नुभयो । दुर्घटना र मृत्यु मानिसको वशमा हुँदैन, तर कारका चालक बनेर गएका सशस्त्र प्रहरीका हवलदार सुवासको निधनमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका रक्षामन्त्री खड्काको भूमिका जोडिन आइपुगेको छ । डा. सन्जु खाती खड्का उपप्रधान तथा रक्षामन्त्री (हाल कार्यवाहक प्रधानमन्त्री) पूर्णबहादुर खड्काका भाइ प्रा.डा.डम्बर खड्काकी श्रीमती हो । प्रा.डा. डम्बर सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका निर्देशक हुन् भने उहाँकी पत्नी डा. सञ्जु पनि त्यहीँ कार्यरत हुनुहुन्थ्यो ।
डा. सञ्जु जेठ १६ गते काठमाडौंबाट आफ्नो माइतीघर बुटवल हुँदै सुर्खेत पुगेर मुगुको रारासम्म जाने योजनाका साथ निस्किनुभयो । उहाँले आफैँ चलाउने गरेको त्यो कार लामो रुटमा चलाउन नसक्ने भएकाले एक जना चालक खोज्नुपर्ने भयो । त्यसपछि रक्षामन्त्री पूर्णबहादुरले सशस्त्र प्रहरी बलका हवलदार सुवास अधिकारीलाई भाइबुहारी सञ्जुको चालकका रूपमा पठाइदिनुभयो । यसपछि सञ्जु आफ्नो योजनाअनुसार मंगलबार बिहान साढे ६ बजेतिर हवलदार सुवासलाई ड्राइभर बनाएर गन्तव्यतर्फ लाग्नुभयो । काठमाडौंबाट बुटलव पुग्दासम्म दिउँसो भइसकेको थियो ।
डा. सञ्जु बुटवलस्थित माइतीघरमा पास्नी कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रम सकिएपछि सञ्जु र सुवास कार लिएर सुर्खेत लाग्नुभयो । बीच बाटोमै रात पर्नसक्छ भनेर उहाँहरू साँझसम्म सुर्खेत पुग्ने लक्ष्यका बुटवलबाट कारमा हुइँकिनुभयो । जेठ १६ गते राति सुर्खेतमा बास बस्ने र १७ गते रारा पुग्ने उहाँहरूको योजना थियो । तर बुटवलबाट गुडेको केही समयमै कार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै साँझ ५ बजेतिर दुर्घटनामा पर्यो । डा. सञ्जु र चालक बनेका हवलदार सुवासको जिन्दगीकै यात्रा त्यहीँ टुंगियो। हतारले कारको गति तीव्र भएका कारण बससँग बचाउँदा–बचाउँदै पनि ठोक्किन पुगेको अनुमान प्रहरीले गरेको छ ।
दुर्घटनामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्ना भाइबुहारीका लागि चालकका रूपमा खटाएका सशस्त्र प्रहरी हवलदार सुवासको पनि मृत्यु भएपछि प्रश्न उठेको छ । सामाजिक सञ्जालमा मन्त्री खड्काको व्यापक आलोचना भइरहेको छ । युवा नेता रवि किरण हमालले सशस्त्र प्रहरीलाई चालक बनाएर पठाउने उपप्रधानमन्त्री खड्काले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ,‘पूर्णबहादुर खड्काले तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्छ, शक्तिको दुरुपयोग गरी परिवारका मान्छे छाड्न सशस्त्र प्रहरीलाई चालक बनाएर पठाउँदा दुर्घटनामा मृत्यु भएको घटना सामान्य होइन। यसको गम्भीर छानबिन हुनुपर्छ ।’ किरणले अगाडि लेख्नुभएको छ,‘(प्रधानमन्त्री) प्रचण्ड नेपाल फर्किएलगत्तै मन्त्रीबाट बर्खास्त गरेर छानबिन गर्न माग गर्दछु ।’
सुवास कसरी त्यहाँ खटाइए छानबिन हुन्छ – सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सशस्त्र प्रहरी बलका तर्फबाट मन्त्रीका लागि भनेर कुनै पनि सुरक्षाकर्मी नपठाएको तर हवलदार सुवास अधिकारी कसरी त्यहाँ चालकका रूपमा खटाइए भनेर छानबिन भइरहेको बताउनुभएको छ ।
प्रवक्ता एसएसपी खड्काले भन्नुभयो, ‘उहाँ मन्त्रीको सुरक्षाका लागि कसरी छुट्नु भएछ, आन्तरिक छानबिन गर्दै छौँ । यदि मन्त्रीज्यूको सुरक्षाका लागि चाहियो भनेपछि हामीले पठाउने कुरा त भई नै हाल्यो। सुरक्षामा भए तापनि उता किन गएको भनेर हेर्दैछौँ । अहिले कार्यविधिअनुसार हाम्रा मान्छे छैनन् । गृहमन्त्री हुँदा हो । पछिल्लो समय मन्त्रीका लागि हामीले कुनै सुरक्षाकर्मी पठाएका छैनौँ ।’ उहाँले थप्नुभयो,‘त्यसरी लामो बाटोमा हामीले आदेश दिएर पनि पाइँदैन, हामी पठाउँदा पनि पठाउँदैनौँ ।’
त्यसैले हवलदार सुवास कसको आदेशमा कार चलाएर त्यहाँ गए भन्ने विषयमा सोधखोज भइरहेको एसएसपी खड्काले बताउनुभयो । ‘जसलाई थाहा छ उसको मृत्यु भइसक्यो। ठूलो क्षति भयो हामीलाई पनि’, उहाँले भन्नुभयो, ‘यस विषयमा थप जानकारी एक/दुई दिनपछि मात्रै थाहा हुन्छ ।’

दाहसंस्कारमा पनि राज्य शक्तिको दुरुपयोग
चालक हवलादर सुवास अधिकारीको शव सशस्त्र प्रहरी बलको सहयोगमा गोरखा लगिएको र परिवारले उहाँको दाहसंस्कारसमेत गरिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिनुभयो । डा. सञ्जुको दाहासंस्कार भने जेठ १९ गते गत शुक्रबार मात्रै गरिएको छ । सञ्जुका श्रीमान् प्रा. डा. डम्बर खड्का विश्व स्वास्थ्य संगठनको महासभामा सहभागी हुन जेनेभा र दुई छोरामध्ये जेठो अध्ययनका लागि अमेरिकामा रहेका कारण उनीहरूलाई पर्खिंदा उहाँको अन्त्येष्टिमा केही ढिलाइ भएको हो ।
डा. सञ्जुको दाहसंस्कार गृहजिल्ला सुर्खेतको भेरी नदीमा गरिएको परिवारले जनाएको छ । यसअघि श्रद्धाञ्जलीका लागि डा. सञ्जुको शव शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित निवासमा बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म राखिएको थियो । त्यसपछि बिहान ११ बजे इत्रामबाट शवयात्रा निकाली भेरीको समौजी घाट पुर्याइएको थियो । उहाँको दाहसंस्कारमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुनुभएको थियो ।
मन्त्री खड्का, डा. सञ्जुका दुई छोरालगायत परिवारका सदस्य र आफन्त काठमाडौंबाट हवाईजहाजमा नेपालगन्ज र त्यहाँबाट हेलिकप्टर चार्टर गरी शुक्रबार बिहान १० बजेतिर सुर्खेत पुग्नुभएको थियो । वीरेन्द्रनगरको सुब्बाकुनादेखि भेरी नदीसम्म करिब ६ किलोमिटर शवयात्रा गरिएको थियो । बिहान ११ बजे थालिएको शवयात्राका क्रममा मन्त्री खड्का शव बोकेकै गाडीमा बस्नुभएके थियो । शवयात्रामा झन्डै १० हजार मानिस सहभागी भएका थिए ।
शवयात्रामा परिवारका सदस्य, आफन्त, राजनीतिक दलका नेता, व्यापारी मात्र नभएर सरकारी कर्मचारीदेखि मन्त्रीसम्म सामेल थिए । मन्त्री र कर्मचारीहरूले सरकारी गाडी प्रयोग गरेका थिए । उनीहरूको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी, ट्राफिक प्रहरीको पनि बाक्लो उपस्थिति थियो । शवयात्राका कारण शुक्रबार बिहान ११ बजेदेखि झन्डै ३ घण्टा सडकमा ट्राफिक जाम भएको थियो । दाहसंस्कारमा सहभागी व्यक्तिले भन्नुभयो, ‘सुब्बाकुनादेखि भेरीसम्म बिस्तारै जाँदा पनि गाडीमा आधा घण्टाको बाटो हो । तर, म आज करिब दुई घण्टा लगाएर पुगेँ। दाहसंस्कार नभएर शक्ति प्रदर्शनजस्तो माहोल देखियो ।’













प्रतिक्रिया दिनुहोस्