जनता टाइम्स

२० जेष्ठ २०८०, शनिबार १७:५५

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, २० जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गर्नुभएको छ । उहाँले एक कार्यक्रममा आज लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै त्यसो गर्नेहरूलाई कारबाही हुने उहाँले प्रस्ट पार्नुभयो ।

‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो। विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु। खबरदार ! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु,’ उहाँले भन्नुभयो ।

मुलुक यसरी नचल्ने बताउँदै उहाँले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने बताउनुभयो । आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले बताउनुभयो । रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनपर्यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाउनुभयो ।

‘त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ । सेवा आयोगमा भनिदिनुपर्यो भन्नुहुन्छ । शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिनपरो भन्नुहुन्छ,’ उहाँले थप्नुभयो,‘त्यसो त हुन्न भन्दा तपाईंले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ । १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ ।’ सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताउनुभयो ।