जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १८:०८

देश र जनताको पक्षमा काम गर्ने केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री भएनन : गोकुल बाँस्कोटा


काठमाडौं, जेठ २४ । नेकपा एमालेका सांसद् सत्ता पक्षका सांसद्ले प्रतिपक्षका कुरा सुन्नै नचाहेकाे भन्दै आपत्ति जनाउनु भएकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै बास्काेटाले विषयवस्तुमा बाेल्नुभन्दा सत्ता पक्षका सांसद्ले प्रतिपक्षी नेता केपी शर्मा ओलीकाे आलाेचना गरेकाे भन्दै कडा आपत्ति जनाउनुभयाे ।

कम्तिमा प्रतिपक्षले दिएका सुझाव ग्रहण गर्नुपर्नेमा प्रतिपक्षी नेताले यति समय बाेल्याे भनेर विराेध गर्नुकाे औचित्य नभएकाे बताउनुभयाे । देशमा विकास, स्वाधिनता र राष्ट्रिय पुर्ननिर्माणकाे कस्ताे हुन्छ भन्ने कुराकाे मानक बसाल्ने प्रधानमन्त्री केपी ओली मात्रै भएकाे सांसद् बास्काेटाले प्रष्ट पार्नुभयाे ।

‘हेक्का रहाेस्, विकास कस्ताे हुन्छ ? स्वाधिनता कस्ताे हुन्छ ? राष्ट्रिय पुर्ननिर्माणकाे अभियान कस्ताे हुन्छ ? रेष्टाेरेसन एज कस्ताे हुन्छ भन्ने कुराकाे मानक केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री भएनन्, हाेइनन्, त्यही सिकेर आउनुभाछ हाेइन, त्यहि केपी ओली सरकारले अघि सारेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र विदेश सम्बन्धका सम्पूर्ण कुरा राखेर बजेट समृद्ध बनाएर आउनुस् न हामी ताली पनि ठाेक्छाैं, नाँचाैंला, धन्यवाद पनि दिउँला ।’

केपी ओलीकाे आलाेचना गर्ने र त्यही ओली सरकारले ल्याएका कार्यक्रम समेटेर टालटुले बजेट ल्याउने काम अहिलेकाे सरकारले गरेकाे उहाँले बताउनुभयाे । अघिल्लाे वर्ष बजेट निर्माणका क्रममा विचाैलियाकाे प्रवेश भएकाे र त्यही समूहले अहिलेका अर्थमन्त्रीलाई फसाउन खाेजेपनि समयमै उम्किएकाे बताउनुभयाे । कम्तिमा यस वर्ष अर्थमन्त्रालयमा मुसा नपसेकाे भन्दै उहाँले अर्थमन्त्रीलाई धन्यवाद दिनुभयाे । बजेटकाे सिजन आउँदा किन सचिव फेरिन्छन् भन्दै प्रश्न गर्नुभयाे ।

पुल, बाटाे, राजमार्ग, सिंचाइ, सुरुङ, धरहरा, रानीपाेखरी, स्कुल निजी घर बनाउने हाे भनेर प्रश्न गर्नेहरुले केही गर्न नसकेका बताउनुभयाे । बाँदर लखेट्न खेतालालाई श्रमिककाे व्यवस्था गर्‍याे भनेर कराउनेले अहिले त्यही कार्यक्रम ल्याएकाे स्मरण गर्दै उहाँले व्यंग्य गर्नुभयाे – ‘अहिले ल्याउनुभाछ, दुम्शीकाे बजेट छैन, बाँदरलाई त जाली लाउने अर्थमन्त्रीज्यू, लिस्नाे चाँहि कस्ताे बाेकेर हिँड्नुभा विचार गर्नुहाेला, लिस्टाे ठिक छैन के सत्ताकाे ।’

तुइन हटाउन खाेज्दा केपी ओलीकाे विराेध गर्ने पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला तुइन चढ्दाचढ्दै जीवन त्यागेका जयसिंह धामीकाे बारे के बाेल्नुभयाे भन्दै सांसद् बास्काेटाले प्रश्न गर्नुभयाे । ‘देश दुख्दैन, सत्ता मात्रै पाेल्छ ?’ उहाँकाे प्रश्न छ ।

केपी ओलीले ऋण लगायाे भन्नेहरुलाई पुल, विकास र निर्माणका कामकाे हिसाब गर्न उहाँले चुनाैती दिनुभयाे । जति आलाेचना गरेपनि केपी ओलीकै पालामा देशकै प्रगति र विकास कस्ताे हुन्छ भन्ने बहस भएकाे सांसद् बास्काेटाले बताउनुभयाे । आलु प्याजमा कर लगाएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । मदन भण्डारीकाे नाम सुन्न सरकारले नचाहेकाे भन्दै उहाँले जग्गा दिँदा पनि काम नभएकाे बताउनुभयाे ।

जिल्ला निर्वाचन कार्यालय खारेज गरिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । ‘निर्वाचन कार्यालय पनि खारेज गरे भैगाे नि, सत्ता पक्षलाई बत्ति निभाउनै परेन, मतपत्र चपाउनै परेन’-बास्काेटाले भन्नुभयाे । जमिनको उपयोग कित्ताकाट गरेर केको जमिनकाे उपयोग भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे ।