जनता टाइम्स

६ असार २०८०, बुधबार १३:४३

नागरिकमाथि भएको प्रहरी दमन तत्काल बन्द गर्न संसदमा माग


काठमाडौं, ६ असार । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकमाथि भइरहेको प्रहरी दमन तत्काल रोक्न माग गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले नागरिकताको माग राखेर भएको धर्नामा प्रहरीले दमन गरेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गर्नुभएको हो । माइतीघर मण्डलामा नागरिकता पाउनुपर्ने माग गर्दै धर्नामा बसेका नागरिकमाथि भएको प्रहरी दमनको निन्दा र भर्त्सना गर्दै उहाँले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नुभएको हो ।

‘केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन् । साथसाथै, संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार चुकेकै छन् । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने, त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरूसँग जुन व्यवहार भएको छ, त्यसको भर्त्सना गर्न चाहन्छु । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु ।’