जनता टाइम्स

१३ असार २०८०, बुधबार ०७:२०

भैरहवाबाट हङकङ र दिल्ली उडान तयारी


काठमाडौँ, १३ असार । नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान सुरु गर्ने भएको छ । निगमले हाल हरेक मङ्गलबार गर्दै आएको काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न लागेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो,’हाल मलेसियाबाट भैरहवामा अवतरण हुँदै आएको निगमको जहाजले काठमाडौँ आउँदा दिल्ली र हङकङ जाने यात्रुसमेत लिएर काठमाडौँ आउने छ । काठमाडौँ आएका यात्रुलाई निगमको सोही उडान वा निगमकै अर्को उडानमार्फत गन्तव्यमा पुर्याउने तयारी भइरहेको छ ।’यस्तो उडान हरेक मङ्गलबार हुने उहाँले बताउनुभयो । हाल निगमले काठमाडौँबाट दिल्ली दैनिक दुई र हङकङ हप्तामा दुई ९मङ्गलबार र शनिबार० उडान गर्दै आएको छ ।

विश्व प्रसिद्ध स्थल लुम्बिनीलाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन र गण्डकी तथा कोशी प्रदेशबाट हङकङमा कार्यरत लाहुरे धेरै रहेकाले यात्रुको सहजतालाई हेरेर उडान विस्तार गर्न लागिएको उहाँले बताउनुभयो । निगमले भैरहवाबाट सिधा दिल्ली उडान सञ्चालनको योजना बनाए पनि भारतको अनुमति प्राप्त भइसकेको छैन । प्रवक्ता पौडेलका अनुसार अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरिने छ ।

दुबई, दोहालगायतका गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । निगमले गएको गत जेठ २९ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नुका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको छ । विसं २०७९ जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरले उडान गर्दै आए पनि पछिल्लो समय प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको छ । गोरखापत्रबाट