काठमाडौं, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आपत्तिजनक अभिब्यक्तिबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक महेश बर्तौलाका अनुसार आज दिउँसो १ः ३० बजे संसदीय दलको बैठक बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री दाहालको अभिब्यक्तिबारे छलफल गरी साझा धारणा बनाइने छ । ‘प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिनुभएको छ । यो सामान्य विषय होइन,’ बर्तौलाले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डको भनाईप्रति हाम्रो गम्भीर आपत्ति छ । यो विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।’
बर्तौलाले यो विषयमा बेखबर भएर बस्न नसक्ने बताउनु भयो ‘संसदले बनाएको प्रधानमन्त्रीले यो देशमा प्रधानमन्त्री बनाउन उहाँले दिल्ली हाबी हुन्छ भन्ने भाष्य स्थापना गर्नुभयो, यो विषयमा हामी बेखबर भएर बस्न सक्दैनौं,’ बर्तौलाले भन्नुभयो । प्रधानमन्त्री दाहालले सोमबार साँझ पुस्तक विमोचन समारोहमा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह धेरैपटक दिल्ली गएको बताउनु भएको थियो ।
‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ,’ दाहालको भनाई थियो ।
प्रधानमन्त्री दाहालको यो अभिब्यक्तिप्रति चर्काे आक्रोश सामाजिक सञ्जालमा पोखिएको छ भने एमाले नेताहरुले कडा आपत्ति जनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्