पाँचथर, असार २६ । गत असार ३ गते आएको बाढीले मोटरेबल पुल बगाएको स्थान पाँचथरको फालेलुङ गाउँपालिकास्थित हेवाखोलाको घुमाउने टारमा डाइभर्सन बनाइएको छ । तत्कालको यातायात गतिरोध हटाउन गाउँपालिकाको अगुवाइमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीद्वारा डाइभर्सन बनाइएको हो ।
डाइभर्सन निर्माणमा फालेलुङका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको नौ लाख ५७ हजार ५०३ रुपियाँ नगद र जिन्सी सहयोग रहेको छ । थप गाउँपालिकाको नगदसहित ४४३ जनाको जनश्रमदान समेत गरी जम्मा २३ लाख रुपियाँ लागतमा डाइभर्सन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । असार २० गतेदेखि निर्माण थालिएको डाइभर्सन लगातार तीन दिन खटेर सम्पन्न गरिएको हो। निर्माण सम्पन्न डाइभर्सन असार २९ गते सञ्चालनमा ल्याउन लागिएको गाउपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जनाउनु भएको छ ।
दुई वटा होम पाइप राखेर बनाइएको डाइभर्सनमा २९ गते पानी पठाएर सञ्चालन गर्न लागिएको हो । सदरमुकाम फिदिमसँग सिधा सम्पर्कमा जोडिने फिदिम–फालोट सडकसँग जोडिने सिदिन–थोक्पन–मच्छेबुङ मार्ग अन्तर्गतको घुमाउने टारमा डाइभर्सन बनाइको हो । फालेलुङ क्षेत्रका लागि मुख्य मार्ग रहेको सिदिन–थोक्पन–मच्छेबुङ सडक ३ गते यतादेखि अवरुद्ध हुदा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।
अस्थायी रूपमै भए पनि डाइभर्सन निर्माणले यातायात सुचारु हुन लाग्दा आफूहरूले धेरै राहत पाउने विश्वासले स्थानीयवासी खुसी छाएको छ । बाढीले नै मोटरेवल पुल भत्काएपछि अवरुद्ध रहेका फालेलुङवासीको प्रत्यक्ष जनजीविकासँग जोडिएका दुई महत्त्वपूर्ण मार्ग पनि खुलाउने प्रयास भइरहेको अधिकृत आङ्देम्बेले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्