जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार १६:०६

सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग


काठमाडौं, २ साउन । चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो ।

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहनामा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिनुभयो । करिब रु तीन करोड मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो ।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारीसाधन उपलब्ध गराएको थियो । विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो ।