जनता टाइम्स

५ श्रावण २०८०, शुक्रबार १४:३२

बिमानस्थलको सुन प्रकरणमा कांग्रेस सांसद शर्माले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा


काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुभएको छ ।

आज बसेको प्रतिनितिसभा अन्तर्गतको कानून, न्याय र मानवअधिकार समितिको बैठकमा शर्माले अर्थमन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी विमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको हो ।

यसमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुई मन्त्रीहरूले बाटो खुल्ला गर्नुपर्ने शर्माको भनाइ थियो । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै शर्माले प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।