जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १८:३७

एमालेलाई बहुमतसहित पहिलो पार्टीको रूपमा स्थापित गर्छौं : गोकर्ण बिष्ट


पोखरा, साउन ७ । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्टले आफुहरु बिगतका घटनाबाट पाठ सिक्दै एमालेलाई बहुमतसहित पहिलो पार्टीको रूपमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ । एमाले कास्कीले आज आयोजना गरेको कार्यक्रममा सचिव बिष्टले यस्तो उदघोष गर्नुभएको हो ।

उहाँले अब एमालेलाई जुरुक्कै उठाउने गरि कार्यक्षेत्रमा एवं जनताको घर घरमा गएर खटिनु पर्ने बताउनु भयो । पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान’ बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिब बिष्टले बिगतका बिकासमा गरेका काम संगै आफ्ना योजना र बिकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उहाँको बिचार कयौं दशक सम्म सान्दर्भिक रहने उल्लेख गर्नुभयो । अधिकारीले नेपाली राजनितीको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गर्नुभयो ।

यस्तै कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले बिकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनु भयो । एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र संचालन सचिब बैनबहादुर अधिकारीले गर्नुभएको थियो ।