जनता टाइम्स

१३ श्रावण २०८०, शनिबार १६:२६

एनआरएनए कतारमा तेज कटुवाल सर्वाधिक लोकप्रिय प्रमाणित


कतार १३ साउन । गैर आवासिय प्रवासी नेपाली संघ (एनआरएनए) कतारका लागि सम्पन्न निर्वाचनमा तेज कटुवाल सर्वाधिक लोकप्रिय ठहरिनु भएको छ । उहाँले निर्वाचनमा खसेको मत ५ हजार ६ सय १४ मध्ये ५ हजार एक सय ९३ मत प्राप्त गरी सर्वाधिक लोकप्रिय ठहरिनु भएको हो । अध्यक्षमा निर्वाचित रमेश भट्टले ३ हजार २ सय २८ मत प्राप्त गर्दा सदस्यका उम्मेदवार कटुवालले झण्डै शतप्रतिशत मत प्राप्त गर्नु भएको छ ।

पदाधिकारीमा विजयी र पराजित उम्मेद्वारबिच करिव एक हजार मतान्तर हुँदा सदस्यमा कटुवालले सर्वाधिक लोकप्रियताको बाजी मार्नु भएको हो । छ जना सदस्य निर्वाचित हुनुहुनेमा अन्य दसई सदस्यले पनि ५ हजार मत कटाउनु भएको छ । कटुवालसहित तीन जनाले ५ हजार मत कटाउँदा अन्य निर्वाचित तीन जनाले भने निर्वाचित पदाधिकारी सरहको मत प्राप्त गर्नु भएको छ ।

कटुवालले प्राप्त गर्नु भएको लोकप्रियता त्यतिकै आर्जन भएको भने होइन । उहाँले कतारवासी प्रवासी नेपालीको हक, हित र अधिकारका लागि बगाउनुभएको पसिना, लगन र इमान्दारिताको उपज हो यो । ‘सेवा गरे मेवा पाइन्छ’ भन्ने उखानलाई उहाँले चरितार्थ गर्नुभएको छ । कतारवासी प्रवासी नेपालले सेवा बापतको मेवा दिएका हुन् उहाँलाई ।

‘सुखमा नमात्तिनु, दुःखमा नमात्तिनु’ भन्ने नेपाली उखानको मर्मलाई आफूले राम्ररी बुझेको बताउॅनुहुन्छ कटुवाल । त्यसैले उहाँ भन्नुहुन्छ,‘सर्वाधिक मत पाएर म मात्तिएको छैन । मैले यो मप्रति गरिएको प्रवासी नेपालीको विश्वास हो भन्ने अर्थमा लिएको छु र जिम्मेवारी थपिएको अर्थमा लिएको छु ।’ मतदाताको यो अपार विश्वासलाई किञ्चित तलमाथि हुन नदिने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।