जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार ०९:५७

झापा र कास्कीमा अत्यधिक वर्षा, उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध


काठमाडाैं, साउन १४ । झापासहित आसपासका क्षेत्रमा अहिले ठूलो पानी परिरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र त्यस क्षेत्र भइ बहने ससाना खोलामा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । डुबान भैरहने होचा ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

शनिबार राति कास्की र पर्वतमा पनि ठूलो पानी परेको छ । कास्कीको जुम्लेटी-पोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ तथा पर्वत आसपास भएर बग्ने खोलामा आकस्मिक बहावको जोखिम रहेको महाशाखाले जनाएकाे छ ।

कुस्मा-पोखरा सडक खण्ड, घान्द्रुक र आसपासमा पहिरोको जोखिम छ । कमजोर भिरालो जमिन भएका ती क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।