काठमाडौं, १४ साउन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध अन्त्यसहितका विषयमा छलफल भएको छ ।
आज बालुवाटार पुगेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले अवरुद्ध सदन खोल्नेलगायतका विषयमा कुराकानी गनुृभएको हो । उहाँहरुबीच प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्को बैठकलगायतका विषयमा कुराकानी भएको हो ।
भेटमा संसद्को गतिरोध अन्त्य र प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा दुई शीर्ष नेताबीच छलफल भएको हो। भेटमा ओलीले ललिता निवास जग्गा हिनामिना प्रकरण, भुटानी शरणार्थी प्रकरण र विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे चासो राख्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले सरकारका मन्त्रीले नै प्रमुख प्रतिपक्ष दललाई लान्छाना लगाउने कार्य गरेकाले निष्पक्ष रुपमा छानबीन गरी दोषीलाई कारबाही गर्नुपर्ने धारणा पनि राख्नुभएको छ । भेटमा ओलीले सत्ता गठबन्धनका मान्छेलाई संरक्षण गर्ने र विपक्षीलाई आरोप लगाउने कार्य निरन्तर गर्ने गरेकोमा कडा आपत्ति जनाउनु भएको छ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सुन तस्करीबारे निष्पक्ष छानबीनर अनुसन्धान गर्न र दोषीलाई उम्कन नदिन निर्देशन दिइसकेको बताउनु भएको स्रोतले बतायो ।
१०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले बुधबार संसद बैठकमा अवरोध गरेको थियो। बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्