जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १५:३२

प्रतिनिधि सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित


काठमाडौं, १५ साउन । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सूचना टाँसेर बैठक स्थगित भएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् चल्न नदिने अडान राखेको छ । एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीको विषयमा छानबिन गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको बताउनुभयो ।

‘छानबिन समिति गठन गरेपछि मात्रै संसद् चल्न दिने हाम्रो अडान छ । उच्चस्तरीय छानबिन समिति गठन नगरिए संसद्को प्रक्रिया अगाडि बढ्दैन, संसद् चल्दैन,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रीमाथि प्रश्न र आशंका छ । उहाँ मातहतका निकायले उहाँमाथि छानबिन गर्न सक्दैनन् । त्यसैले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ अनिमात्र संसद् अगाडि बढ्छ ।’