काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गर्नुभयो ।
उहाँले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरूको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरू पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताउनुभयो । सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुसीकै कुरा हुने समेत बताउनुभयो । नेपाली जनता आफैंले कोरको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभूति चाहिने उल्लेख गर्दै उहाँले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने पनि पटक पटक दोहोर्याउनु भयो ।
सभापति लामिछानेले भन्नुभयो, ‘हाम्रो उपस्थितिले मात्रै पनि जुन ढङ्गले होसियारी देखिएको छ–ठाउँ ठाउँमा । सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरूमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ । यो आफैँमा एउटा राम्रो सङ्केत हो । यसलाई मैले गलत अर्थमा लिएको छैन । राम्रो सङ्केत हो यो । र, मैले सरकारको कामकारबाहीलाई पनि भनेको छु कि जसरी भ्रष्टाचारको विरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो । सम्भवतः यो आगमनले हाँकी न हाँकी सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ ।’
उहाँले भन्नुभयो ‘र, लाएकै हुनुपर्छ कि अहिले फाइल खोलिएन भने २०८४ सम्म त के हो के ? भन्ने लागेकै हुनुपर्छ । त्यस कारणले यो सङ्केत देखिएकै छ । ठिक छ । हामी खुशी छौं । हामीले निर्वाचनमा जानुअघि उठाएको विषयमा सरकारले आउने निर्वाचन सम्मानै धेरै सरसफाइ गर्न सकेछ भने हाम्रो काम सजिलो नै हुनेछ । किनकि नेपाली जनताले अव जुन किसिमको एउटा समृद्धिको खाका कोरेका छन् । र, त्यो समृद्धिको खाका कोर्नु भन्दा अगाडि जुन किसिमको सुशासनको प्रतिबद्धता चाहिन्छ । त्यसको छनक देख्न पाएको हुनाले हामी यसमा खुशी नै छौं । हामीले यसमा दुःख मनाउ गर्ने कुरा छैन ।’
सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले घर–घरमा राष्ट्रिय स्वतन्त्र पार्टी पु¥याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । सभापति लामिछानेले सुदूरपश्चिमका जनताको अवस्थामा परिवर्तन ल्याउने गरी आफ्नो पार्टी अघि बढ्ने आश्वासन समेत दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्