जनता टाइम्स

२० श्रावण २०८०, शनिबार १३:०४

तराई–मधेसको भू–भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग


काठमाडौ‌, २० साउन । जनमत पार्टीले तराई मधेशको भु–भागलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले सो माग गरेको हो । काठमाडौंमा केन्द्रिय समिति बैठक पछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न मागसमेत गर्दै आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुभएको हो ।

खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभएको छ । उहाँका अनुसार मधेस प्रदेशको प्रमुख सहर वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घर–घरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ ।

भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेसका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीकोसमेत हाहाकार मच्चिए पछि ज्ञापन पत्र लिएर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको उहाँको भनाई छ ।