महोत्तरी, २० साउन। महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी यो रोगवाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुको बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन । उहाँहरूका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अफ्ठ्यारो हुने यो रोगको लक्षण भएको चिकित्सकहरुको भनाइ छ ।
यो रोगको प्रकोप तिव्ररुपमा फैलिए पछि निको नहुन्जेल रोग लागेका विद्यार्थीलार्इ घरमा राख्न अभिभावकहरुलाइ अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका संचालक अरुण कार्कीले जानकारी दिनुभयो । सो रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरुले वताएका छन ।
अहिले जिल्लाका क्लिनिक र अस्पतालहरु आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले बृदी भएको अस्पतालले जनाएको छ ।
यस रोगवाट बच्न के गर्न सकिन्छ ?
यो रोग प्रकोपको रुपमा भयावह भएर फैलिए पनि सामान्य भएको चिकित्सकहरुले सल्लाह दिएका छन । उनीहरुको अनुसार सामान्य बिषयहरुमा ध्यान दिएता पनि रोग निको हुन सक्दछ । जथाभावी रुपमा आँखा नछुने, आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्ने संक्रमितहरुले प्रयोग गरेका तौलिया, रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता उनीहरुको सुझाव रहेको छ ।
रोग लागि हालेमा पनि नडराउन चिकित्सकहरुले सचेत गराएका छन । रोग लागि हालेमा पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइ सकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने, आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने, कालो चस्माको प्रयोग गर्ने, आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने, जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने कुराहरुमा उनीहरुले सचेत गराएका छन ।













प्रतिक्रिया दिनुहोस्