जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार १८:३०

कांग्रेसलाई गुनासो गरेर बस्ने छुट छैन : गगन थापा


काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गरेर बस्ने छुट नभएको बताउनुभएको छ । उहाँले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहसमेत गरी ३३२ वटा सरकारमा संलग्न रहेको बताउँदै अब कांग्रेसले काम गरेर देखाउनु पर्ने र गुनासो गर्ने छुट नरहेको बताउनुभएको हो ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २९औं विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस अहिले पार्टीको नीति र सिद्धान्तबमोजिम कानुन र योजना बनाउने र कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो । कांग्रेस समावेशी लोकतन्त्रको पक्षधर पार्टी रहेको बताउँदै उहाँले दलित, महिला, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिमसहितका समुदायलाई अधिकार दिने विषयमा प्रस्ट रहेको बताउनुभयो ।

उहाँले नेपालमा रहेका हरेक नागरिक समान रहेको र हरेकले आफ्नो भाषा, संस्कृति र संस्कारको संरक्षण पाउनुपर्ने प्रस्ट पार्नुभयो । संविधानमा उल्लेख भएका अधिकार कानुनले थप सुनिश्चित गर्नुपर्ने अवस्था  रहेको महामन्त्री थापाको भनाइ छ । ‘संविधानले विभिन्न अधिकार दिएको छ, तर नागरिकले त्यसको अनुभूति गर्न पाएको अवस्था छैन ।

हामीले कतिपय कुराहरू संविधानमा संशोधन गर्नुपर्ने होला, कतिपय संविधानबमोजिम कानुनहरू बनाउनुपर्ने होला वा कतिपय पूराना कानुनलाई संविधानअनुकूल बनाउनुपर्ने होला। त्यसका लागि हाम्रो भूमिका छ, त्यो हुनुपर्छ,’ उहाँले भन्नुभयो । संविधानमा रहेका कतिपय कमजोरीहरूलाई सच्याएर अघि बढ्न कांग्रेस सकारात्मक रहेको उहाँको भनाइ थियो ।