जनता टाइम्स

२ भाद्र २०८०, शनिबार १७:१०

अनेसास नेपाली भाषा, साहित्य, संगीत र सँस्कृतिको विश्व प्रसारक बन्यो : डा. त्रिपाठी


काठमाडौं, २ भदौ । नेपाली साहित्य क्षेत्रका बौद्धिक समालोचक डा. बासुदेव त्रिपाठीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाली भाषा, साहित्य, संगीत र सँस्कृतिको विश्व प्रसारकको रुपमा रहेको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नेपाल च्याप्टरको चौथो अधिवेशनलाई सम्बोधन गर्दै समालोचक त्रिपाठीले स्थापना कालबाटै नेपाली भाषा र साहित्यको विकासमा अनेसासले योगदान दिँदै आएको बताउनुभयो ।

उहाँले नेपाली कला साहित्यको विकास र विस्तारका लागि अनेसासले विश्व प्रसारकको भूमिकामा लागि परेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘वितेको एक शताब्दीमा नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाको रुपमा विश्वमा प्रतिष्ठित भैरहेको/हुँदो छ । एउटा परिवेशमा गौरवमय भाषाको रुपमा नेपाली भाषा, नेपाली साहित्य, संगीत, कला र सँस्कृतिको विश्व प्रसारक बनिरहेको छ । आजभन्दा तीन दशक अगाडि अन्तर्राष्ट्रिय साहित्य समाजको स्थापना दार्जिलिङमा भयो । र त्यो अनेसासको स्थापना विश्वव्यापी आयात भएको सिद्ध भयो ।’

उहाँले थप्नुभयो,‘समाजको तीन दशको अवधिमा जसरी नेपालीहरु विश्वका डेढ सय राष्ट्रका हाराहारीमा, नेपाली सभ्यता विस्तारै प्रसार भैरहेको छ, त्यो क्रममा समाजले विश्वव्यापी रुपमा छरिएको, प्रसारित भैरहेको नेपाली जाति, समुदाय र नेपाली सभ्यतालाई परस्परमा आवद्ध गर्ने, प्रवर्द्धन गर्ने, संवाद बढाउने र एक अर्काको बीचमा तादाम्यता बढाउने तथा मनको मिलन गराउने काम गरेको छ । दक्षिण एसियाली उत्कृष्ट सभ्यता बोकेको धरोहको रुपमा चिनाउँन नेपाली भाषा साहित्य, कला र संस्कृतिलाई युरोप अमेरिकालगायत विश्वका विभिन्न भागमा विस्तार गर्दै विस्तारै बढाउँदै लगेको छ । र नेपाली जाति विश्वको एउटा सुसभ्य सभ्यता बोकेको जातिको रुपमा चिनिदै छ ।’

यस्तै त्रिपाठीले वैश्विक र भुमण्डलीक आयामलाई एउटा मूर्त रुप दिनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भूमिका रहेको बताउनुभयो । कार्यक्रममा नेपाली साहित्य, संगीत र भाषाको क्षेत्रमा योगदान पुर्याउनुभएको श्रष्ठालाई सम्मानसमेत गरिएको थियो ।