जनता टाइम्स

३ भाद्र २०८०, आईतवार ०९:३४

नागरिकले सूचनाको हकको व्यापक प्रयोग गर्न पाएका छैनन : प्रधानमन्त्री दाहाल


काठमाडौं, भदौ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भएपनि नागरिकले यसको व्यापक प्रयोग गर्न नपाएको बताउनु भएको छ ।

१७ औं राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा सूचनाको अधिकार सुनिश्चित गरिनुको अर्थ हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी, हस्तक्षेप र खबरदारी बढाउनु भएपनि त्यसो हुन नसकेको बताउनु भएको हो ।

‘यति लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन सकिरहेको छैन,’ शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले भन्नुभएको छ । वास्तविक लोकतन्त्रको अभ्यास गर्नेहरूले सूचना नलुकाउने बरु कोही माग्न नआए पनि कानून बमोजिम गोप्य राख्नैपर्ने सूचनाबाहेक सबै प्रकारका सार्वजनिक सूचना नियमित रूपमा सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई छ ।

‘राष्ट्रहित लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको मूल मर्म भनेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा गर्नु रहेको छ, जसलाई नेपालको संविधानले आत्मसात् गरेको छ,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।

उहाँले जनताको यस किसिमको आकांक्षालाई सम्बोधन गर्न राज्य प्रणालीका सबै निकायहरू जनचाहना अनुरूप निर्देशित र परिचालित हुनु अनिवार्य सर्त रहेको पनि उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले अवसरमा सार्वजनिक निकायका सूचना अधिकारीहरू सूचनाको हकका अभियन्ताहरू तथा सम्पूर्ण नागरिकहरूमा सूचनाको हकप्रति थप क्रियाशील रहन आव्हान समेत गर्नुभएको छ ।