काठमाडौं, भदौ १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारले प्रहरीलाई दुरुपयोग गरेको बताएको छ ।
एमालेले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को दुरुपयोग गरी मुख्य दोषीलाई जोगाउने काम गरेको बताएको हो । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवासमा अनौठो किसिमको नाटक भएको बताउनु भयो ।
‘भ्रष्टाचारका नाइकेहरूलाई अदालतले पक्रेर छानबिन गर भन्दा छानबिन गर्दैन । संगठित अपराधमा मुद्दा चलाएर ६० दिनसम्म थुनामा राखिन्छ । अहिले के मिलेमतो भयो ? के लेनदेन मिल्यो ? उनीहरूलाई संगठित अपराध होइन, किर्तेमा मुद्दा चलाउने काम भएको छ,’ गिरीले भन्नुभयो, ‘यदि किर्ते थियो भने किन ६० दिनसम्म थुनामा राख्नुपर्थ्यो ? किन अदालतले थुनामा राख्नुपर्यो ? लेनदेन होइन भने सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।’
प्रमुख सचेतक गिरीले सीआईबीलाई निकम्मा बनाइएको उल्लेख गर्दै सुन तस्करीमा सत्तापक्षका देखेपछि त्यता आँखा लगाउन नसक्ने बताउनु भयो । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाउने प्रहरीहरूको छानिछानी सरुवा हुन्छ । तर, सुन तस्करीमा सत्ताको मान्छे पनि संलग्न भनेर बोल्दा सांसद सुनिल शर्मालाई बिनापूर्जी थुन्ने काम हुन्छ,’ गिरीको भनाई थियो । उहाँले सरकारको रवैयाले भ्रष्टाचारी र तस्करीमा संलग्न ब्यक्तिहरु निकै खुसी बनेको टिप्पणी पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्