जनता टाइम्स

१३ भाद्र २०८०, बुधबार २०:०६

बर्खास्त डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १३ भदौ । ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालिन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेका थिए ।

सो सूचनाका आधारमा केसीको निवास खानतलासी गर्दा नगदसहित सुन बरामद भएको थियो । केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन लिई गई १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैंले जिम्मा लिनु भएको थियो ।

उनले सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद रु.८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस रिसवत लिन लगाई सुन फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

निज ठग बहादुर केसीले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो १८ लाख रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।