जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार ०८:४४

ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की


काठमाडौँ, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिनुभएको छ ।

बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोख्नुभएको छ । फेसबुकमा उहाँले लेख्नुभएको छ,‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि आक्रोश पोख्नुभएको हो े। नौ बजे प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए । ‘सिनियर प्रहरीले बिदाको दिन गाडी चलाउने अनुमति माग गरेको हो । अनुमति थिएन,’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले भन्नुभयो ,‘बढीमा २ देखि ३ मिनेट मात्रै रोकिएको हो ।

केही भएको छैन ।’ सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका एक प्रहरीले बताउनुभयो । ‘तीब्रगतिमा पनि थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले हामीलाई उल्टै काठमाडौं महानगरको गाडी किन रोकेको भनेर थर्कायो,’ती ट्राफिक प्रहरीले भन्नुभयो ,‘गाडी पछाडि महिला थिए । सोधखोज गर्दा ड्राइभरले म्याडम हो भन्थे । हामीले चिट समेत नकाटी छाड्यौं ।’ ट्राफिक प्रहरी कार्यालयले गाडी छाडेको केही समयमा काठमाडौं महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले गाडी राकेको भन्दै उल्टै थर्काएको स्रोतले जनाएको छ । बस्नेतले गाडी रोकेको विषयमा सोधपुछ गर्न काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको छ ।