काठमाडौं, भदौ १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएलगत्तै गत साउन २ गते समातिएको ६१ किलो सुन प्रकरणले अहिले राजनीति र अपराध जगतको अन्तरसम्बन्ध उजागर हुँदै गएको छ । सुन तस्करीमा सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका नेताहरूको एकपछि अर्को संलग्नता देखिनुले यस प्रकरणमा पूर्णरूपमा राजनीतिक कनेक्सन रहेको देखिएको हो ।
हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानमा एयर कार्गोमार्फत स्कुटरको पार्टपुर्जामा लुकाएर ल्याएको एक क्विन्टल सुन तस्करीका मुख्य नाइके दावा छिरिङ नामका एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि तस्करसँग नेताहरूको सम्बन्धको पर्दा विस्तारै उघ्रन थालेको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।
नेपाल र बेल्जियमको पासपोर्ट बोक्दै आएका दावा छिरिङले नेताहरूकै सेटिङमा नेपाली नागरिकता लिन सफल भएका थिए । दावासँग माओवादी नेता वर्षमान पुन, ओनसरी घर्तीलगायत नेताहरूले खाना खाँदै गरेको तस्विर सार्वजनिक भएपछि प्रहरी अनुसन्धानको विषय बनेको यो घटनामा उनीहरूको संलग्नता रहेको आशंकाहरू उत्पन्न भएका छन् ।

यो काण्डमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वअर्थमन्त्री एवं सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसहित उहाँको परिवारका सदस्यहरूको संलग्नता आशंकामा सूक्ष्म अनुसन्धान अघि बढाएको छ । व्यापारिक साझेदारीदेखि बिचौलियाको भूमिकासम्म उनीहरूको संलग्नता आशंका गरिएको छ ।
प्रहरीका अनुसार वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगर सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको छ भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश यो गिरोहलाई सहजीकरण गर्न भूमिकामा देखिएका छन् । वर्षमानका भाइ प्रनिशको भियना मल्टिपर्पोज ग्रुपमा लगानी रहेको देखिएको छ ।
नन्दबहादुरका छोरा दीपेश गिरोहका सदस्यसँग हेलिकोप्टरमार्फत् गोसाइँकुण्डसम्म गएको सूचना सार्वजनिक भएको छ । दावाकी पत्नी अमला रोकासहित एउटा चिनियाँ समूहलाई लिएर मनाङ एयरको हेलिकोप्टरमा गएको पाइएको हो ।













प्रतिक्रिया दिनुहोस्