जनता टाइम्स

२२ भाद्र २०८०, शुक्रबार ०८:०७

कार्यालयमै अश्लील गतिविधि गर्ने अधिकृतको ‘अवार्ड’ खोसियो


काठमाडौँ, भदौ २२ ।  माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले यसअघि पाएको ‘इन्टिग्रिटी आइकन’ अवार्ड खोसिएको छ।

लेखा शाखाकी एक कर्मचारीसँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भनिएको भिडियो बाहिरिएपछि राईले सन् २०१९ मा पाएको ‘इन्टिग्रिटी आइकन’ खोसिएको हो। एकान्टबिलिटी ल्याबका सहायक निर्देशक सुरेश चन्दले बिहीबार विज्ञप्ति जारी गरी राईले पाएको अवार्ड रद्द गरिएको जानकारी दिनुभएको छ । अवार्ड पाएपछि राईले नेपालको प्रशासनिक क्षेत्रमा असल आचरण र कुशल कार्यशैलीले अरूलाई पनि प्रेरित गर्ने विश्वास रहेका बेला भिडियोमा बाहिरिएको अमर्यादित कार्यले संस्था स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ। भिडियो आएपछि ल्याबले राईलाई २४ घण्टाभित्र भिडियोमा आएका तथ्यबारे स्पष्ट पार्न भनेको थियो। जबाफमा राईले ‘मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु, समग्र आइकन परिवारलाई पर्न गएको क्षतिका लागि क्षमा चाहन्छु र यस सम्बन्धमा संस्थामार्फत हुने निर्णय मान्य छ’ भन्ने उल्लेख गरे पनि अवार्ड रद्द गरिएको आइकन परिवारले जनाएको छ।
विज्ञप्तिमा राईले कार्यक्षेत्रमा अमर्यादित व्यवहार गरेको भन्दै त्यसपछि खेद व्यक्त गरिएको छ। राई इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनलाई ‘इन्टिग्रिटी आइकन अवार्ड–२०१९’ प्रदान गरिएको थियो। सन् २०१४ यता प्रत्येक वर्ष पाँच कर्मचारीलाई यो अवार्ड प्रदान गरिन्छ। अहिलेसम्म ४५ जनालाई अवार्ड प्रदान गरिएको संस्थाका सहायक निर्देशक सुरेश पन्तले बताउनुभयो ।

‘यो अवार्डको निश्चित मापदण्ड र नियम छ, त्यसअन्तर्गत जसले यो अवार्ड पाउँछ, आइन्दा कुनैपनि अनैतिक गतिविधि, व्यवहार र आचरण मबाट हुनेछैन भन्ने प्रतिबद्धतामा हस्ताक्षर गराइएको हुन्छ,’ पन्तले भन्नुभयो , ‘तर, राई संलग्न भएको भिडियो बाहिरिएपछि उहाँले गरेको प्रतिबद्धता उल्लंघन भएको ठहर गरी अवार्ड रद्द गर्ने निर्णय भएको हो।’

यद्यपि, चुलाचुलीकै प्रमुख प्रशासकीय अधिकृत रहेका बेला राईले एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। तर, घटना बाहिर आउन नदिई दुवै पक्षलाई राखेर ‘सामसुम’ पारिएको थियो। गत असारमा तत्कालीन प्रमुख प्रकाशकीय अधिकृत राई र लेखाकी कर्मचारीले लेखाको कार्यकक्षमा अश्लील क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज मंगलबार बाहिरिएको थियो।

अहिले भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ। सार्वजनिक भिडियोमा चुम्बन गरेका, हात समाएको, अँगालो हालेको र नगद लेनदेनसमेत गरेको देखिन्छ। राई यसअघि नै पालिकाबाट सरुवा भइसक्नुभएको छ । भिडियो बाहिरिएपछि बिहीबार यसै विषयमा छलफल गर्न गाउँ कार्यपालिका बैठक बसेको थियो। तर, बैठकको निर्णय शुक्रबार मात्रै सार्वजनिक गर्ने गाउँपालिकाले जनाएको छ। पालिकाले सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि संघीय सरकारलाई सिफारिस गर्ने स्रोतले जनाएको छ।