रुपन्देही, २२ भदौ । नेकपा (एमाले) लुम्बिनीका अध्यक्ष राधाकृष्ण कँडेलले भर्खरै सम्पन्न पार्टीको प्रथम अधिवेशनलाई लिएर विभिन्न मिडिया र सामाजिक सञ्जालमा पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव, उप–महासचिवसहित अन्य नेताहरुको नाम जोडेर पार्टीलाई गुट र उपगुटको विल्ला भिराउने नियोजित प्रचारप्रति आपत्ति जनाउनुभएको छ ।
अध्यक्ष कंडेलले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता प्रचारमा कुनै सत्यता नभएको दावी गर्दै पूर्ण रुपमा सजग र सचेत रहन सबैलाई अनुरोध गर्नुभएको छ । कँडेलले भन्नुभएको छ, ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई सर्वोपरी मान्दै पार्टीको विधान महाधिवेशन, राष्ट्रिय महाधिवेशनका नीति, विचार, सिद्धान्त आत्मसात् गर्दै एकतावद्ध, सशक्त र सुदृढ पार्टी निर्माणमा हाम्रो भूमिका हुनेछ ।
अधिवेशन आन्तरिक आन्तरिक लोकतन्त्र भएकाले कुनै पनि प्रकारको गुट, फुट र विभाजन पार्टीलाई मान्य छैन, अनावश्यक हल्ला एमालेमा विग्रह ल्याउन खोज्नेहरुको आत्मरती मात्रै हो ।’ विज्ञप्तिमा भनिएको छ,‘हामी सबै नेता कार्यकर्ताहरुलाई एकतावद्ध गर्दै मिशन–०८४ र सबै तहमा कम्तिमा ५१ प्रतिशत एमाले प्रतिनिधित्व हुने प्रतिवद्धता दोहोर्याउन चाहन्छौं । यसमा सिंगो एमालेको नेतृत्व प्रतिवद्ध छ ।’
अधिवेशन अभूतपूर्व रुपमा भब्य र सभ्य ढंगले सुसम्पन्न भएको र यसले लोकतन्त्रकोे अभ्यास कसरी गर्ने भनेर सवै पार्टीलाई सिकाएको बताउँदै अध्यक्ष कंडेलले यसवाट सबै कम्युनिष्ट पार्टी र अन्य बुर्जुवा सुधारवादी पार्टी समेतलाई मार्गदर्शन गरेको जनाउनुभएको छ । उहाँले मुलुक संघीय संरचनामा गएपछि ७ प्रदेशमध्ये लुम्बिनी प्रदेशको भाद्र १६–१९ मा एमालेले प्रथम अधिवेशन गरेर संघीयता लागू गर्ने क्रममा अर्को एउटा इँट्टा थप्दै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको मूल ढोका खोल्न सकेको जनाउनुभएको छ ।
उहाँले भन्नुभएको छ,‘नेपाली जनता र राष्ट्रकै गौरवशाली पार्टी नेकपा (एमाले)ले इतिहासका जुन कुनै विषय र अप्ठेरा परिस्थितिमा पनि जनता, राष्ट्र र अग्रगमनको लागि सही निकासको सहि दिशाबोध गर्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । हाम्रो पार्टी कथित क्रान्तिकारिता, देखावटी उदारतावादलाई पराजीत गर्दै आजको अवस्थासम्म आइपुगेको छ । २०४६ सालको जनआन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र कार्यान्वयनमा पनि नेकपा एमालेको अब्बल भुमिका रहेको छ ।’
अध्यक्ष कँडेलले अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने प्रमुख अतिथि पार्टी अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवहरु, अध्यक्ष मण्डल, निर्वाचन आयोग, बहस नोट कमिटी, माइन्युट लेखन कमिटीलगायत अधिवेशन सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै लुम्बिनीमा पार्टीलाई थप बलियो बनाउनेगरी योजनामा लाग्ने जनाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्