काठमाडौं, भदौ २३ । सरकारले बिजनेश दिन नसकेपछि दुवै संसद् बिजनेसविहीन भएको छ । सरकारसँग बैठक नियमित चलाउने कुनै एजेन्डा नभएपछि राष्ट्रिय सभाको बैठक बस्ने मिति नै अनिश्चित बनेको छ ।
आइतवारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एजेन्डा नै नभएपछि संसद् सचिवालयले सूचना निकालेर स्थगित गरेको छ । राष्ट्रिय सभा मात्र होइन, प्रतिनिधि सभा सञ्चालनका लागि समेत एजेन्डा नभएपछि प्रतिनिधिसभाको बैठक पनि एक सातापछि मात्रै बस्ने गरी मिति तय गरिएको छ । प्रतिनिधि सभाको बैठक भदौ २७ गतेका लागि बोलाइएको छ ।
आइतवारका लागि तय भएको राष्ट्रिय सभा बैठक कारणवश स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमले सूचनामार्फत जानकारी दिनुभएको छ । भदौ २४ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन नहुने उल्लेख गर्दै उक्त सूचनामा भनिएको छ, ‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
सरकारले कुनै विधेयक ल्याउन सकेको छैन । संघीय संसदका दुवै सदनको बैठक नियमित सञ्चालनमा लागि सरकारले काम दिन नसकेको हो । सरकारको ध्यान संसदलाई बिजनेश दिनेतिर पनि छैन ।
प्रतिनिधि सभामा ल्याउन लागिएको एकमात्र विधेयक पनि कानुन, न्याय तथा मानवअधिकार समितिमा अडकिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक पनि सरकारले संसदमा ल्याउन सकेको छैन् । टीआरसी विधेयक आउँदो भदौ २७ गतेभित्र संसदमा लैजाने गरी काम टुंग्याउने तयारी समितिको छ ।
तर, उक्त विधेयक संसदमा छलफलका लागि नल्याउँदासम्म प्रतिनिधिसभा पनि बिजनेसविहीन बनेको छ । संसदमा छलफल गर्ने विधेयक, एजेण्डा नभएकै कारण प्रतिनिधिसभाको बैठक २७ गतेका लागि डाकिएको छ । ०७९ मंसिर ४ को निर्वाचनपछि बनेको सरकारले प्रतिनिधिसभा सुरु भएको आठ महिनामा पाँचवटा विधेयक मात्रै अघि बढाएको छ । यो अवधिमा मिटरब्याजसम्बन्धी विधेयक मात्रै संसदबाट पारित भएको छ । सरकारले सत्ता गठबन्धन टिकाउन र नाटक रचेर तस्करीमा लागेको कारण संसद बिजनेश बिहिन बनेको हो ।
प्रतिक्रिया दिनुहोस्