जनता टाइम्स

२७ भाद्र २०८०, बुधबार १४:४६

नेपाल आइपुगे दिवंगत नेता नेम्वाङका दुवै छोरा, च्यासल पुगेर गरे बुवालाई अन्तिम श्रद्धाञ्जली अर्पण


काठमाडौं, भदौ २७ । दिवंगत एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि नेपाल आइपुगेका छन । जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट आज आइपुग्नु भएको हो ।

कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट हिजो आइपुग्नु भएको थियो । स्वर्गीय नेम्वाङका दुई छोरा र दुई छोरी हुनुहुन्छ । नेम्वाङका जेठा छोरा बेलायतमा बस्दै आउनु भएको छ भने कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन । सुहाङ केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया जानुभएको थियो ।

बुबाको निधनको खबर पाएपछि उहाँ भ्रमण रद्द गरेर तत्काल फर्किनुभएको हो । नेम्वाङका दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । अन्तिम श्रद्धाञ्जलीपछि अहिले उपाध्यक्ष नेम्वाङको पार्थिव सरीरलाई बालुवाटारस्थित निवासमा लगिएको छ । नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ ।

हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार गरिने भएको छ । सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । नेम्वाङको निधनको शोकमा बिहीवार सार्वजनिक विदासमेत दिइएको छ ।