जनता टाइम्स

३ आश्विन २०८०, बुधबार १३:२७

देउवालाई शेखरले भने : अव तपाईंसँग कुरा गर्दिनँ, आफ्नै ढंगले अघि बढछु


काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कडा आपत्ति जनाउनु भएको छ । नेत कोइरालाले आज सभापति देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीलगायत विभिन्न विषयमा कडा असन्तुष्टि जनाउनु भएको हो ।

कोइरालाले सभापति देउवामाथि पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको भन्दै अव कुनै संझौता नहुने बटमलाइन सुनाउनु भएको छ । आज बिहान ११ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म कोइरालाले धुम्बाराही पुगेर सभापति देउवासँग कुराकानी गर्नुभएको हो । देउवासँग कुरा गर्न कोइरालाले उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियारलाई साथै लैजानुभएको थियो ।

कोइरालाले मंगलबार बालुवाटारस्थित सचिवालयमा आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको थियो । छलफलका क्रममा केन्द्रीय सदस्यहरूले सभापति देउवालाई भेटेर एकलौटी रूपमा पार्टीका निर्णय नगर्न सचेत गराउन कोइरालालाई सुझाएका थिए ।

०७८ को मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग कोइराला पराजित हुनुभएको थियो । कोइरालाले संस्थापनइतर समूहको नेतृत्व गर्दै आउनु भएको छ । सभापति देउवासँग कोइरालाले पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको र विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेकोमा ध्यानाकर्षण गराएका हुन । कांग्रेस केन्द्रदेखि प्रदेशका सरकारमा सहभागी भए पनि प्रभावकारी काम हुन नसकेको उहाँको भनाइ थियो ।

‘तपाईं विधानअनुसार चल्नुभएन । नेविसंघ र तरूण दल विधानविपरीत बनाइएको छ,’ देउवासँग कोइरालाको भनाई उधृत गर्दै एक नेताले भने, ‘सरकारमा जाँदा र मन्त्री पठाउँदा पनि जति समन्वय र छलफल हुनुपर्ने हो, तपाईंले त्यो काम गर्नुभएन ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन । संस्थापनइतर समूहले कम्तीमा ३ जना मन्त्री आफूहरूले पठाउन पाउनुपर्ने अडान लिएका थिए, तर सभापति देउवा तयार हुनुभएन ।

कोशी प्रदेशमा सभामुखलाई मतदानमा सहभागी गराएर सरकार टिकाउन खोजेकाजस्ता गतिविधिमा सभापति संलग्न रहेको आरोप कोइरालाको छ । ‘कांग्रेस संविधानभन्दा बाहिर जान हुँदैनथ्यो,’ कोइरालाको भनाई थियो । कोइरालाले आफूले पटक–पटक दिएका सुझाव र उठाएका प्रश्नलाई पनि बेवास्ता गर्ने गरिएको बताउँदै अव भने कठोर बन्ने बटमलाइन सुनाउनु भएको छ ।

‘अव तपाईंसँग कुरा गर्दिनँ, जे गर्नुहुन्छ, गर्नाेस । म आफ्नो ढंगबाट अघि बढछु,’ देउवालाई कोइरालाले भन्नुभयो, ‘आजबाट म तपाईंसँग कुरा गर्दिन । तपाईं जसरी अघि बढ्नुहुन्छ बढ्नुहोस ।’ सभापति देउवालाई यति कुरा भनेर कोइराला धुम्बाराहीबाट निस्किएका हुन्। सभापति देउवाले भने आफू सबैलाई समेटेर अघि बढ्न तयार नै रहेको जवाफ दिनुभएको थियो ।