जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार १३:४६

नेपालमा राजसंस्था अपरिहार्य छ : कमल थापा


काठमाडौं, ४ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताउनुभएको छ । पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिनुभएको छ । महाधिवेशनपछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढ्नुभएको थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रिय समितीबाट गराउनुभएको छ ।

महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भुमिकाबाट बिच्किनुभएको थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मन मै राख्ने र बिर्सने प्रयास गर्नुभएको छ । आज बिहान सामाजिक संजाल ट्विटरबाट आफ्नो भावना ब्यक्त गर्दै थापाले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिब्यक्ती दिनुभएको छ ।
थापाले सबै गुनासो ,चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको ब्यबस्थाको बिकल्प खोज्ने समेत बताउनुभएको छ ।

सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशब्यापी प्रदर्शनबाट थापा थप हौसिनुभएको छ । उहाँले आज सामाजिक सञ्जाल ट्विटरमार्फत लेख्नुभएको छ,‘राजाप्रतिको मेरो गुनासो,असंतुष्टी आफ्नो ठाउँमा छ । तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तिका आमसंचार माध्यमहरुसमेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई बिदेशीको पैसासँग साटी रहेको देख्छु, म अत्यन्त चिन्तित हुन्छु । अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।