जनता टाइम्स

११ आश्विन २०८०, बिहीबार ०८:२२

एमाले बागमती अधिवेशनः नेतृत्व चयनका लागि मतदान आज


काठमाडौं, असोज ११ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ।अहिले बिहान ८ बजेदेखि पार्टी कार्यालय, च्यासलमा चुनाव हुने भनिए पनि अहिलेसम्म दाबी विरोध नसकिएको अध्यक्षका प्रत्यासी केशरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

‘दाबी विरोधपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ,’ बुढाथोकीले भन्नुभयो, ‘दिउँसो मात्रै चुनावको सम्भावना छ।’ दाबी विरोधको समय सकिएपछि सर्वसम्मतिका लागि प्रयास हुने नेताहरूले बताएका छन्। एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ। सफ्टवेयरमा उम्मेदवारको नामावली राख्न चारदेखि पाँच घन्टा लाग्ने बताइएको छ। भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ। एमाले बागमतीमा १ हजार १६४ जना मतदाता रहेका छन्।

५ पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको छ। भूगोलतर्फ केही केन्द्रीय सदस्य सर्वसम्मत भएको बताइएको छ। अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ, रामेछापकै केशरबहादुर बुढाथोकी, नुवाकोटका केशव पाण्डे हुनुहुन्छ । उपाध्यक्षमा दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला रहनुभएको छ । सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, रामकुमार अधिकारी हुनुहुन्छ । त्यस्तै उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ।

खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ, रीता गौतम ढकाल उपसचिवमा उम्मेदवारी दिनुभएको छ ।