जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार १९:१९

एनआरएनएको पुनः नेतृत्व लिने दौडमा रहेकी अध्यक्ष रविना थापाको २५ बुँदे महत्वाकांक्षी कार्ययोजना


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको अध्यक्षकी उम्मेदवार रविना थापाले २५ बुँदे प्रतिवद्धता जनाउनु भएको छ । संघको आसन्न ११ औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएकी थापाले गैर आवासीय नेपालीलाई नेपालको समृद्धिसँग जोडने गरी काम गर्ने अठोटसहित आफ्नो प्रतिवद्धता जनाउनु भएको हो ।

अमेरिकाबाटै अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएकी बर्तमान कार्यसमितिका अध्यक्षसमेत रहनुभएकी थापाले काठमाडौंमा समेत पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा र प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उम्मेदवारले पालैपालो अध्यक्षका रूपमा काम गर्ने सहमति भएको थियो ।

सोही अनुसार बर्तमान कार्यसमितिमा अमेरिकाकी थापासहित रसियाका डा. बद्रि केसी र युरोपका कुल आचार्य अध्यक्ष हुनुहुन्छ । आगामी महाधिवेशनमा अध्यक्ष बन्ने दौडमा रहनुभएकी थापाले एनआरएनए ग्लोबल फण्डको महत्वाकांक्षी कार्यक्रमसमेत घोषणा गर्नुभएको छ ।

‘म नेतृत्वमा पुगेलगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ, जुन नेपाल र नेपालीको समृद्धिका लागि सारथी मात्र होइन, संकट पर्दाको सञ्जीवनीसमेत हुनेछ,’ थापाको अठोट छ । उहाँले एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष सङ्घको सबैभन्दा ठूलो कोष हुने पनि बताउनु भयो ।

एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाका रूपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर एक कार्यकाल काम गर्न चाहेको थापाको भनाई छ । ‘मैले ६ महिना कार्यकारी अध्यक्षको रूपमा काम गर्दा उल्लेखनीय काम गरेको छु, एक कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा सङ्घलाई जीवन्त र गतिशील ढङ्गले अघि बढाउने र विदेशमा बस्ने प्रत्येक नेपालीलाई अपनत्व महसुस हुने वातावरण बनाउने छु,’ थापाको अठोट छ ।

आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धि भएको, गैरआवासीय नेपाली नागरिकताका लागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक एनआरएनएको टिम सहभागी भई पदक जितेको, सङ्घको काठमाडौँस्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्टदेखि घेरा पर्खालसम्म) अपाङ्गमैत्री बनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण सुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सुरु गरिएको (तीन प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा), विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४सै घण्टा खुला रहने हटलाइन सेवा सुरु गरिएको, सङ्घको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको जानकारी पनि थापाले दिनुभयो ।

सङ्घको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिँदै थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको बताउनु भयो । निर्वाचनलाई भड्किलो बनाउन नहुनेमा जोड दिँदै आफू महाधिवेशन प्रतिनिधिले मात्र नभई एनआरएनएका प्रत्येक पञ्जिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको अडान पनि थापाले राख्नुभयो ।

‘यो विदेशमा रहेका नेपालीको हकहित र समस्यामा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो, यो न त कुनै राजनीतिक भ्रातृ सङ्गठन हो न त कुनै व्यापारिक या व्यावसायिक संस्था नै हो,’ थापाले भन्नुभयो । विदेशमा बस्ने नेपाली सबैको अवस्था एउटै नभएको उल्लेख गर्दै खाडीमा काम गर्ने श्रमिक दाजुभाइदेखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत बनाएका सबैको भावनाको प्रतिनिधित्व हुने गरी नेतृत्वमा ल्याउनु पर्ने उहाँको भनाइृ छ । उहाँले विधान विपरीत प्यानल बनाएर निर्वाचनमा जाँदा सङ्घमा मनमुटाव बढेको उल्लेख गर्दै ११औँ महाधिवेशनमा प्यानल पूर्णरूपमा निषेध गरिनुपर्नेमा जोड दिनुभयो ।

एनआरएनएभित्र चरम गुटबन्दी, राजनीतिक चलखेल, विवाद र व्यापारीकरणले सङ्घको गरिमा घटेको र गलत सन्देश गएको उल्लेख गर्दै थापाले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठी सक्षम, सबल गतिशील र संयोजनकारी नेतृत्व चयन गर्न एनआरएनएका सम्पूर्ण प्रतिनिधिलाई आग्रह पनि गर्नुभएको छ ।

थापाले विदेशमा रहेका नेपालीलाई वंशजकै नागरिकताको निरन्तरतादेखि श्रम स्वीकृति लिएर गएका श्रमिक सरकार सरकार (जिटुजी) बाट जाने नेपाली र विद्यार्थी अनुमतिमा गएका विद्यार्थीहरूलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने बताउनु भयो ।

थापाले सङ्घको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्यका विषयलाई आफ्नो बिश्ष कार्ययोजना बनाएको जानकारी पनि बताउनु भएको छ । स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन सञ्चार, कृषि ऊर्जालगायतका विभिन्न क्षेत्रमा थापाको योजना र अवधारणा घोषणापत्रमा समेटिएको छ ।