जनता टाइम्स

१७ आश्विन २०८०, बुधबार १३:२६

सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता


काठमाडौं, १७ असोज । भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा आज बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ ।

सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो ।

बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ । सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ ।