जनता टाइम्स

१८ आश्विन २०८०, बिहीबार १८:३६

कान्तिपुरलाई प्रमुख ३ संगठनको चेतावनी : ऐनविपरीत पत्रकार हटाए कडा प्रतिवाद गर्छौं


काठमाडौं, असोज १८ । कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकारहरूलाई सेवाबाट निष्काशन गरेको विषयमा पत्रकारका प्रमुख ३ संगठनले कडा आपत्ति जनाएको छ ।

श्रमजीवी पत्रकार ऐनविपरीत श्रमजीवी पत्रकारहरूलाई सेवाबाट हटाइएको घटनाप्रति आपत्ति जनाउँदै पत्रकारका ३ संगठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन ।

युनियनका अध्यक्ष शिव लम्साल, चौतारीका अध्यक्ष गणेश बस्नेत र सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलद्वारा हस्ताक्षरित विज्ञप्तिमा श्रमजीवी पत्रकारका माग र आग्रहलाई बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ । त्यसबाट उत्पन्न हुनसक्ने समस्याप्रति कान्तिपुर व्यवस्थापन स्वयं जिम्मेवार र जबाफदेही हुने उहाँहरुको माग छ ।

‘कान्तिपुरले लामो अवधि काम गरेका स्थायी तथा करार, स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने, इमेलमार्फत अवकाशपत्र पठाउने, कतिपयलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन मानव संशाधन विभागबाट फोन गरेर टर्चर दिने जस्ता कार्य गरेको पीडित पत्रकारले गुनासो गरेका छन,’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा देखिएको आर्थिक मन्दीको कारण देखाउँदै कान्तिपुरले वर्षौं कार्यरत श्रमजीवी पत्रकारको सम्झौता नवीकरण नगर्ने, अवकाशपत्र दिने, राजीनामा दिन बाध्य बनाएर रित्तो हात घर पठाउन खोज्नु, स्थायीलाई स्ट्रिन्जरमा झार्न खोज्ने कार्य निन्दनीय छ । श्रम ऐनमा भएको व्यवस्था विपरित पत्रकारलाई जबरजस्ती यस्ता कार्य तत्काल रोक्न आग्रह गर्दछौँ । नेपालको प्रचलित ऐन, कानुन अनुसार पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न कान्तिपुर समक्ष अनुरोध छ ।’

कान्तिपुरमा कार्यरत पत्रकारले व्यस्थापन समक्ष राखेका पत्रकारका मागहरूप्रति आफूहरूको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको अध्यक्षत्रयको भनाई छ । पत्रकारका मागलाई तत्काल सम्बोधन गर्दै श्रमजीवी पत्रकार ऐनमा भएको व्यवस्था अनुसार व्यवहार गर्न चेतावनी दिइएको छ ।
बिज्ञप्तीमा कानुनी आधारलाई टेकेर वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न कान्तिपुर व्यवस्थापनसँग आग्रह गरिएको छ ।